प्रेस विज्ञप्ती

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीबाट भएको अत्यधिक बल प्रयोगप्रति तराई मानव अधिकार रक्षक संञ्जाल (थर्ड एलायन्स) को गम्भिर ध्यानाकर्षण भएको छ ।
बालिकाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको सार्वजनिक भएको थियो । हत्यापछि बालिकाको शव भीमदत्त नगरपालिकाको एक उखुबारीमा निर्वस्त्र अवस्थामा भेटिएको थियो ।
तर प्रहरीले घटनामा संलग्न अपराधिलाई कारवाही गर्न उदासिनता देखाएको भन्दै सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि बिहिबार प्रहरीले गोली चलाएपछि आठ जना घाइते भएको थर्ड एलान्सको अनुगमनबाट देखिएको छ । साथै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको समेत पाइएको छ ।
प्रहरीले चलाएको गोली लागि भीमदत्त नगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारी गम्भिर घाइते भएका छन् भने तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का तथा सन्तोष कठरियालाई पनि गोलीको छरा लागेको छ ।
त्यसैले प्रहरीबाट भएको दमनप्रति थर्ड एलायन्सले आपत्ति जनाउदै प्रहरीलाई संयमता अपनाउन आग्रह गर्दछ । साथै घाईतेहरुलाई उपचारका लागि आवश्यक पहल गर्न सम्वन्धित निकायसंग माग पनि गर्दछ ।
अनुगमनका क्रममा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा प्रहरी हवल्दार, हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएको समेत पाइएको छ । त्यसैले थर्ड एलायन्सले आन्दोलनकारीलाई पनि संयमता अपनाउदै प्रदर्शन गर्न आग्रह गर्दछ ।